दफा
निषेध गर्ने, नियमित गर्ने वा निर्देशन दिन सक्ने

(१) योजना कार्यान्वयन गर्ने प्रयोजनको लागि प्राधिकरणले देहायका विषयहरूमा आवश्यकता अनुसार निषेध गर्ने, नियमित गर्ने वा निर्देशन दिन सक्नेछ ः–
(क) विमानस्थल तथा विमानस्थल क्षेत्र र हवाई मार्गमा वा त्यसको आसपासमा प्रकाशको व्यवस्था गर्ने ।
(ख) विमानस्थल, विमानस्थल क्षेत्र र हवाई मार्गमा रहेको कुनै व्यक्तिको निजी घरजग्गा निजद्वारा वा सो घरजग्गा भोग चलन गर्ने व्यक्तिद्वारा प्रकाशको प्रबन्ध गर्न लगाउने र त्यसको लागि प्राधिकरणले खर्च व्यहोर्ने ।
(ग) विमानस्थल, विमानस्थल क्षेत्र र हवाई मार्गमा पर्ने जग्गामा कसैले कुनै भवन, टावर, लट्ठा इत्यादि बनाउँदा वा खडा गर्दा वा प्रकाशको व्यवस्था गर्दा पालन गर्नु पर्ने शर्त वा बन्देज तोक्ने ।
(घ) खण्ड (ग) बमोजिम तोकिएको शर्त बन्देजमा उल्लिखित उचाई भन्दा बढीको भवन, घर, टहरा, टावर, लट्ठा, रूख वा अन्य कुनै कुराको निर्माण गर्न वा खडा गर्न, उचाई बढाउन प्रतिबन्ध लगाउने वा भैरहेको त्यस्तो भवन, घर, टहरा, लट्ठा, रूख आदि पूरै वा केही भत्काउन, उखेल्न वा काट्न लगाउने ।
(ङ) विमानस्थल वा विमानस्थल क्षेत्रभित्र रहेका वायुयानलगायत अन्य कुनै सम्पत्ति वा यन्त्र वा उपकरणको सुरक्षाको निमित्त आवश्यक प्रबन्ध गर्ने ।
(२) उपदफा (१) बमोजिम प्राधिकरणले हवाई सुरक्षालाई ध्यानमा राखी विमानस्थल वा विमानस्थल क्षेत्रभित्रको कसैको चल, अचाल सम्पत्तिको भोग चलनमा शर्तयुक्त बन्देज लगाउन सक्नेछ र त्यस्तो बन्देज सम्बन्धी निर्णय गर्दा वा तत्सम्बन्धित सूचना वा आदेश जारी गर्दा बन्देज लगाउन परेको कारण समेत स्पष्ट खुलाउनु पर्नेछ ।